मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले मेटाअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल फेसबुकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एक भिडियो हटाएकोमा माफी मागेको दाबी गरेको छ।
भारतका प्रधानमन्त्री मोदीको भिडियो मेटाले केही समयका लागि हटाएको थियो। पछि फरी मोदीले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो। बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री नियन्त्रणका क्रममा कमजोरी हुँदा प्रधानमन्त्री मोदीको भिडियो हटेको मेटाले दाबी गरेको छ।
पछिल्लो समय डीपफेक सामग्री फैलिन दिएको तथा अन्य सञ्चालनगत त्रुटिहरू भएको स्वीकार गर्दै माफी मागेको भारतीय सञ्चार माध्यामहरुले सरकारी स्रोतहरूलाइ उल्लेख गर्दै समाचार प्रसारण गरेका छन्। बुधबार द इन्डियन एक्सप्रेसले मोदीको भिडियो हटेकोमा मेटाले माफी मागेको दाबि सहितको समाचार प्रकाशित गरेको छ।
उसले भन्यो ‘सरकारी स्रोतका अनुसार मेटाले निश्चित प्रकारका सामग्रीको पहुँच (रिच) बढाउन ठूलो रकम खर्च गरिएको तथ्य पनि स्वीकार गरेको छ।’ तर अहिले सम्म यस विषयमा मेटाले कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फेसबुक खातामा अपलोड गरेको सेल्फी भिडियो केही समयका लागि हटाइएपछि भारत सरकार र मेटाबीच तनाव बढेको थियो। उक्त भिडियोमा प्रधानमन्त्री मोदीले राष्ट्रियस्तरका प्रवेश परीक्षाका प्रश्नपत्र चुहिएको विरोधमा ककरोच जनता पार्टीले दिल्लीको जन्तर–मन्तरमा गरेको प्रदर्शनबारे टिप्पणी गरेका थिए। पछि मेटाले भिडियो ‘गल्तीवश हटाइएको’ भन्दै पुनःस्थापना गरेको थियो।
यसैबीच, बुधबार संसदीय समितिले मार्क जुकरबर्गलाई तीन दिनभित्र सार्वजनिक रूपमा माफी माग्न निर्देशन दिएको छ। समितिले चेतावनी दिँदै भनेको छ, यदि जुकरबर्गले माफी नमागे भने मेटा र जुकरबर्ग दुवैले सूचना प्रविधि (आईटी) ऐनअन्तर्गत प्राप्त ‘सेफ हार्बर’ को कानुनी संरक्षण गुमाउन सक्नेछन्।
‘सेफ हार्बर’ व्यवस्था अन्तर्गत वेबसाइट तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रयोगकर्ताले पोस्ट गरेका सामग्रीका कारण उत्पन्न हुने कानुनी दायित्वबाट निश्चित हदसम्म संरक्षण प्रदान गरिन्छ।
समितिको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थी र जेन-जीलाई परीक्षा विवाद तथा प्रश्नपत्र चुहावटविरुद्ध सरकारले चालेका कडा कदमबारे दिएको सम्बोधन हटाइनु अत्यन्त गम्भीर विषय हो। यस घटनाका लागि समितिले श्री मार्क जुकरबर्गसँग सार्वजनिक माफीको माग गर्दछ।’
यसअघि गत साता भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटाका ग्लोबल अफेयर्स प्रमुख जोएल क्याप्लान र इन्स्टाग्राम प्रमुख एडम मोसेरीलाई स्पष्टीकरणका लागि बोलाएको थियो।
मन्त्रालयका सचिव एस. कृष्णनले मेटाजस्तो ठूलो कम्पनीसँग यस्ता त्रुटि हुन नदिन सक्षम प्रणाली हुनुपर्ने बताएका थिए। उनले भने, ‘यी प्रणालीहरूले अपेक्षाअनुसार किन काम गर्न सकेनन् भन्ने कुरा हामी बुझ्न चाहन्छौँ।’
उनका अनुसार ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामजस्ता मेटाका प्लेटफर्महरूले भारतको कानुन, त्यसअनुसार पालना गर्नुपर्ने दायित्व तथा त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने स्पष्ट व्यवस्था हुन आवश्यक छ।








