काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूलाई धुम्रपान सम्बन्धी कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न कडा निर्देशन दिँदै सूचना जारी गरेको छ।
होटेल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का र चुरोट जस्ता सुर्तीजन्य पदार्थको धुम्रपान हुने गरेको र त्यसबाट धुम्रपान नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा समेत गम्भीर असर परेको जनगुनासो प्राप्त भएपछि प्रशासनले यो कदम चालेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचना अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को व्यवस्था अनुसार अब होटेल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिने गरी तोक्नुपर्नेछ।
साथै, धुम्रपान गर्न छुट्याइएको स्थान चारैतिरबाट बन्द हुनुपर्ने र त्यसको असर अन्य कसैलाई नपर्ने गरी मात्र व्यवसाय सञ्चालन गर्न भनिएको छ।
जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट जुनसुकै समयमा अनुगमन हुन सक्ने र अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेको पाइएमा सुर्तीजन्य पदार्थ ऐनको दफा १७ बमोजिम अधिकतम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
यस सूचना मार्फत काठमाडौँ जिल्लाभित्रका सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनको पूर्ण पालना गर्न सूचित गरिएको छ।








