images
images

सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍योः मिरज ढुंगाना

काठमाडौँ – जेन–जी अभियन्ता मिरज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको बताए। उनले साना–साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने उल्लेख गरे।

सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उनको भनाइ छ।

कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नु दुवै गलत भएको बताए। उनले जेन–जी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली हानेको बताए।

कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेन–जी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेन–जी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भए पनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको बताए।

कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको भनाइ छ।

उनले नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उल्लेख गरे। सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उनले आग्रह गरे।