images
images

सर्वोच्चको आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल दिएको छ : खड्का

काठमाडौँ– कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले पुनरावलोकनको निस्सा दिएपछि नेता पूर्णबहादुर खड्काले पार्टीको सम्पूर्ण एकताको आधार तयार पारेको जनाएका छन्।

बिहीबार सर्वोच्चको पूर्ण इजलासले यसअघि विशेष महाधिवेशनलाई संयुक्त इजलासबाट दिएको आधिकारिकतामाथि पुनरावलोकन गर्न अनुमति दिएको छ।

आदेशपछि तत्कालीन कार्यवाहक सभापतिका रुपमा सर्वोच्च पुगेका खड्काले आदेशले कांग्रेसको सम्पूर्ण एकताका लागि प्रेरणा दिने बताएका हुन्। देश सञ्चारसँग कुरा गर्दै उनले भने, ‘सर्वोच्चको यो आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल दिनेछ भन्ने मैंले लिएको छु। यसले एकताका लागि सबैलाई प्रेरित गर्ला भन्ने आशा लिएको छु। मेरो मनोबल उच्च बनाएको छ।’

खड्काले पार्टी कुनै पनि हालतमा विभाजनमा जान हुन्न भन्ने आफ्नो अडानलाई आदेशले बल दिएको पनि उनले उल्लेख गरे। खड्का भन्छन्, ‘पार्टी कुनै पनि हालतमा विभाजन जान हुन्नु भन्नेमा म अडिग छु। त्यसलाई आदेशले बल दिएको छ। नेपालको अदालतले न्याय मर्न दिँदैन भन्ने विश्वास पनि पुष्टि भएको छ।’

बिहीबारको आदेशले निर्वाचन आयोगको निर्णयलाई वैधानिकता दिने संयुक्त इजलासको आदेश त्रुटिपूर्ण रहेको आफ्नो भनाइलाई पुष्टि गरेको उनको दाबी छ। ‘कम्तिमा फुलबेन्चले पुनरावलोकन गर्न निस्सा दिएपछि यसअघि सर्वोच्च र निर्वाचन आयोग दुवैको निर्णयमा खोट छ भन्ने पुष्टि गरेको छ,’ उनले अगाडि भने, ‘आदेशमा कानुन नजिर विपरीत भए पनि एक लोकतन्त्र वादीको हैसियतले आदेश मान्छु भनेको थिए। हिजो भएको त्रुटि अब सुनुवाइको क्रममा सच्चिन्छ भन्ने विश्वास लिएका छौँ।’

विवादले कांग्रेस विभाजनतर्फ उन्मुख भइहरेको छ। शेरबहादुर देउवा पक्षले राष्ट्रिय भेलामार्फत छुट्टै पार्टीको घोषणा गर्ने तयारी गरेका बेला पूर्ण इजलासले निस्सा दिएको हो।

बिहीबार प्रधान न्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकनको निस्सा दिएको हो।

गत वैशाख ४ गते न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। सर्वोच्चले निवेदक तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिटलाई खारेज गरेको थियो।

यही साउन ६ गते तत्कालीन सभापति शेरबहादुर देउवाको तर्फबाट उक्त आदेश माथि पुनरावलोकनको माग गर्दै खड्काले पुनरावलोकनको निवेदन दिएका थिए।