images
images

जेन–जी अभियन्ताहरूलाई गृहमन्त्री गुरुङको चेतावनीः हाम्रो रगतमाथि राजनीति गर्न नखोज्नू

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले रगतमाथि राजनीति नगर्न जेन–जी अभियन्ताहरूलाई चेतावनी दिएका छन्।

बिहीबार ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले तीन–चार जना जेन–जीहरूले आफूहरूको रगत र बलिदानमाथि राजनीति गर्न खोजेको बताएका हुन्।

उनले भने, ‘हाम्रो घाउमा तीन–चार जना यो राजनीति गर्न खोज्ने जेन–जीहरू छन् नि, चेतावनी दिन चाहन्छु, हाम्रो रगतमाथि, हाम्रो बलिदानमाथि जो आन्दोलनमै नगएको मान्छेहरू छ, रोडमा उभिन उहाँहरूले सुहाउँदैन।’

जेन–जी हुनका लागि देशको माया, योगदान र इरादा हुनुपर्ने उनको भनाइ छ। उनले उमेर समूहमा पर्दैमा जेन–जी नभइने बताए।

उनले भने, ‘उमेर समूह भनेको प्रिभिलेज होइन। इरादा हो, इरादा नेक हुनुपर्छ, त्यो हो जेन–जी भनेको। उमेर समूह पर्‍यो भन्दैमा जाने होइन। उसको नियत के छ देशप्रतिको? उसको माया के छ? उसको योगदान के छ? ऊ आन्दोलनमा आएको थियो कि थिएन?’

गृहमन्त्री गुरुङले निरन्तरको आन्दोलनका कारण आफूले राम्रोसँग काम गर्न नपाएको बताए। उनले पदभार सम्हालेयता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको उल्लेख गरे।

उनले भने, ‘यो चार महिनामा मैले काम नै गर्न पाएको छैन साँच्ची भन्ने हो भनेदेखि। कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ। कहिले यो भएन भनेको छ, कहिले त्यो भएन भनेको छ। यो अवधिमा हरेकचोटी केही न केही त भएको छ। मैले कामै राम्रोसँग गर्न पाएको छैन।’

उनले जेन–जी पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भए पनि परिस्थिति अनुकूल नभएको बताए। जेन–जी शहीदका परिवार र जेन–जी पुस्ताका मागहरू पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ।