images
images

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को पूरक परीक्षाको नतिजा

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

बोर्डले २०८३ साल साउन २ र ३ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ५७ हजार ८९७ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो ।

बोर्डले केही परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ ।

विद्यार्थीले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र तथा नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np बाट हेर्न सक्नेछन् ।

त्यस्तै, नेपाल टेलिकमको १६०० नम्बरमा SMS गरेर पनि नतिजा हेर्न सकिनेछ । यसका लागि मोबाइलको म्यासेज बक्समा NEB लेखी स्पेस दिएर आफ्नो Symbol Number टाइप गरी १६०० मा पठाउनुपर्नेछ ।

मौका परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा D ग्रेड प्राप्त गरेका विद्यार्थीले नतिजा प्रकाशन भएको १० दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्।

यसका लागि रु. १ हजार ५०० दस्तुर बुझाउनुपर्नेछ । पूरक प्रमाणपत्र लिन थप रु. ५०० तिर्नुपर्ने बोर्डले जनाएको छ ।

आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि आवेदन दिन सक्नेछन् । बोर्डका अनुसार २०८३ साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म पुनर्योगका लागि आवेदन दिन सकिनेछ । प्रति विषय रु. १ हजार दस्तुर तिरेर बोर्डको वेबसाइटमा रहेको Retotaling विकल्प वा Student Portal मार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।

नतिजामा स्थगित वा अनुपस्थित, विषय फरक परेको, नाम–थर वा रजिस्ट्रेसन नम्बर फरक परेकोलगायत त्रुटि देखिएमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र आवश्यक कागजातसहित सम्बन्धित कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा निवेदन दिन सकिने बोर्डले जनाएको छ ।

प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने बोर्डले स्पष्ट पारेको छ ।

1786027208-zojBt-1786032577.jpg