काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी ऋषिराज मोरसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मोरलाई पुर्पक्षका लागि थुनामा राख्न अस्वीकार गर्दै एक करोड रुपैयाँ नगद वा सो बराबरको बैंक जमानत बुझाएर तारिखमा रिहा गर्न आदेश दिएको हो। उनी १ करोड धरौटी बुझाएर रिहा भएका छन् ।
दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा उपस्थित भएका मोरले आरोपित कसुर अस्वीकार गर्दै बयान दिएका थिए। तर अदालतले मिसिलमा संलग्न उजुरी, भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिसँग भएको कारोबार तथा हिमालयन रिइन्सुरेन्स लिमिटेडको शेयर कारोबारसम्बन्धी विवरणबाट उनको संलग्नता प्रारम्भिक रूपमा देखिएको उल्लेख गरेको छ।
‘मुद्दा पुर्पक्ष गर्ने भन्ने सम्बन्धमा विचार गर्दा, प्रतिवादी मोरले अदालतसमक्ष बयान गर्दा आरोपदाबी अनुसारको कसूरजन्य कार्य आफूले नगरेको भनी आरोपित कसूरमा इन्कार रही बयान गरेको भएता पनि मिसिल संलग्न उजुरी र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. को बीचमा रहेलो कारोबारको विवरण, हिमालयन रिइन्सुरेन्स लि. र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. बीच भएको शेयर कारोबारको विवरणमा उनको संलग्नता देखियो ’ आदेशमा भनिएको छ ‘शेयर बिक्रीको कारोबार गरेको स्वीकार गरी मोरले क्रेष्ट माइक्रो कम्पनीको सञ्चालक अध्यक्ष रहेको र सो कम्पनीले पनि भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग शेयर कारोबार गरेको देखिएको छ। ’
आदेशमा मोरले शेयर बिक्री–खरिद गरेको स्वीकार गरेको, आफू क्रेष्ट माइक्रो कम्पनीका सञ्चालक अध्यक्ष रहेको र उक्त कम्पनीले पनि भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत शेयर कारोबार गरेको देखिएको उल्लेख छ।
यद्यपि, मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले हाललाई मोरसँग एक करोड रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राख्ने आदेश विशेष अदालतले दिएको हो।
अदालतमा दिएको बयानमा मोरले आफूले कम्पनीहरूको वित्तीय अवस्था र सम्भावित प्रतिफलको विश्लेषण गरेर मात्रै शेयर कारोबार गर्ने गरेको, कुनै कम्पनीको शेयर एकत्रित गर्ने योजनामा संलग्न नरहेको तथा मार्जिन कारोबार सुविधामार्फत ब्रोकरसँग नियमित कारोबार गरेको दाबी गरेका छन्।
यस्तो छ आदेश:
-1786026642.jpg)
-1786026642.jpg)








