काठमाडौँ — दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ समर्पित बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।
संस्थानका दुग्ध तथा दुग्धजन्य पदार्थ उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्र उद्घाटनका क्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा। शरणकुमार पाण्डेले संस्थानका उत्पादनलाई उपभोक्तासम्म सहज रूपमा पुर्याउन तथा बजार विस्तार गर्न समर्पित बिक्री केन्द्र विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले यस्ता बिक्री केन्द्रको विस्तारले स्वदेशी दुग्धजन्य पदार्थको प्रवर्द्धन, किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चितता तथा उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
महाप्रबन्धक पाण्डेका अनुसार उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता बिक्री केन्द्र विस्तार गर्दै लगिनेछ। यसबाट किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित हुनुका साथै उपभोक्ताले गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा प्राप्त गर्न सक्ने उहाँको भनाइ छ। वनस्थलीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएसँगै दुग्ध विकास संस्थानका समर्पित बिक्री केन्द्रको संख्या आठ पुगेको छ।
संस्थानले यस्ता केन्द्रमार्फत आफ्ना उत्पादनको बजार विस्तार गर्नुका साथै स्वदेशी दुग्ध क्षेत्र र किसानको प्रवर्द्धनमा थप योगदान पुर्याउने लक्ष्य लिएको छ।








