काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीले सबै कैद छुट पाएका छन्।
उनी विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए।
उनले ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित असार २४ गते दिएको निवेदनमा सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले शुक्रबार कैद सजाय छुटको आदेश दिएको हो।
कारागारमा रहेकाले मात्र यो सुविधा पाउने कि कारागार नै नबसेकाले पनि पाउने भन्नेमा न्यायाधीहरूबीच राय बाझिएको थियो।
न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएका थिए।कारागारमा बसेकाले मात्रै निवेदन दिनुपर्ने राय न्यायाधीश रावलको थियो।
जोशीलाई ०६९ साउन १० गते विशेष अदालतले १ वर्ष ६ महिना कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेषको फैसला केही उल्ट्याउँदै ०८१ साउन १३ गते ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। सर्वोच्च अदालतबाट कैद र जरिवाना तोकिए पनि उनले सजाय भुक्तान गरेका थिएनन्।
सोही कैद सजाय शुक्रबार उच्च अदालतले छुट दिएको हो।








