images
images

पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ – विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको कर छुट तथा भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

​विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग सोमबार धरौटी माग गरेको हो।

​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्कीमाथि पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको सम्झौताबमोजिम ठेकेदार कम्पनीले बुझाउनुपर्ने कर छुट दिएको अभियोग लगाएको थियो।

अख्तियारले सम्झौताविपरीत कर छुट दिँदा राज्यलाई ३ अर्ब ६२ करोड ६ लाख २२ हजार १६० रुपैयाँ हानि नोक्सानी पुर्‍याएको दाबी गरेको छ।

सोमबार भएको ​बयानमा कार्कीले आफूले कुनै नयाँ प्रावधान नराखेको, नेपाल र चीनबीच भएको सहुलियतपूर्ण ऋण सम्झौताको व्यवस्था कार्यान्वयन मात्र गरेको र राज्यलाई हानी पुर्‍याउने नियत नरहेको भन्दै आरोपको पूर्ण अस्वीकार गरेका थिए। कार्की धरौटी बुझाएर आज रिहा हुने प्रक्रियामा छन्।