काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमा राजनीतिक परिपक्कता देखिँदै गएको बताएका छन्।
वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार लामो समय नजाने विश्लेषण गरेका दाहालले सभापति लामिछानेको राजनीतिक प्रतिविधिको प्रशंसा गरेका हुन्।
सोमबार सिंहदरबारस्थि नेकपाको संसदीय दलको कार्यालयमा संसदीय विषयमा रिपोटिङ गर्ने पत्रकारहरुसँगको कुराकानीका क्रममा दाहालले लामिछानेमा राजनीतिक परिपक्कता देखिदै गएको जनाएका हुन्। २०७९ सालको चुनावपछि दाहाल नेतृत्वको सरकार उपप्रधानमन्त्रीसहित गृहको जिम्मेवारी दिएका थिए।
प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरुसँग आफ्नो नियमित संवाद हुने गरेको समेत दाहालले बताए।
आफ्नै क्याबिनेटमा काम गरेको हुनाले पनि लामिछाने, सभामुख डोलप्रसाद अर्याल र उर्जामन्त्रीसँग सल्लाह हुने गरेको उल्लेख गरे।
‘पार्टीको नेतृत्व अथवा रवि लामिछाने, सभामुख डिपी अर्याल, विराजभक्त भट्ट सबै मेरो क्याबिनेटमा बसेको साथीहरु हुनुको नाताले मलाई उहाँहरुलाई बुझ्न गाह्रो छैन। उहाँहरुलाई भन्न पनि गाह्रो छैन। मेरो संवाद चाहिँ रेगुलरै भइराख्या छ, उनले अगाडि भने, ‘रविसँग प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन् त्यहाँ त्यस्तो केही भएको छैन। कम्पेरिटिवली पोलिटिकल मेचोरिटी रवि मै रछ भन्ने त सबैले महसुस गरेकै कुरा छ।’
सुनसरीमा हिन्दू मुस्लिमको विवाद समाधान गर्न लामिछानेले दलहरुसँग गरेको संवादको उनले खुलेर प्रशंसा गरे।
दाहालले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति संसदबाटै आलोचना गरेका थिए। उनले संवाद छलफल गर्दा सानो नभइने जनाउँदै प्रधानमन्त्रीलाई आफ्नो शैली फेर्न, अनुभवीसँग सुझाव लिन आग्रह गरेका थिए।
दाहाले आफूले लामिछानेलाई ‘गुन लगाएको’ समेत उल्लेख गरे। लामिछानेमाथि सहकारी ठगीको आरोप लाग्दा दाहालले सार्वजनिक रुपमै प्रतिवाद गरेका थिए। उनीमाथि पासपोर्ट कीर्ते मुद्दा नचल्ने निर्णय दाहालकै निर्देशनमा तत्कालीन महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेका थिए।
‘रवीजीले मलाई गुन तिर्नुपर्नेछ। उनको लागि त मैले धेरै डिफेन्स गर्या छु नि। पहिलाको पार्लियामेन्टमा, पब्लिकमा। जेलमा गएर भेटेको छु। बाहिर आएर पत्रकारहरुको बीचमा बोलेको छु, दाहालले अगाडि भने, ‘यो सबै गुन तिर्नु छ। बिर्सिनु भएको छैन।’
दाहालले वालेन नेतृत्वको सरकार समुद्रमा कम्पास हराएको जहाजजस्तै दिशाहीन बनेको टिप्पणी गरे। सरकार दिशाहीन भएकाले दुर्घटनाको नजिक भएको र लामो समय नजाने उनको भनाइ थियो।
प्रचण्डले भने, ‘सरकार समुन्द्रमा कम्पास हराएको जहाज जस्तै दिशाहिन भएको छ। कुनै दृष्टिकोण योजना छैन। सरकार र रास्वपा नेतृत्वबीच खटपट बढेको देखिन्छ। यो सरकार धेरै लामो समय जाँदैन।’








