images
images

१५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँः प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव गरेका छन्।

सोमबार काठमाडौँमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबीच समन्वय हुनुपर्ने बताएका हुन्।

उनले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ्नुपर्ने बताए।

उनले महाधिवेशनलाई स्वच्छ प्रतिस्पर्धाको थलो बनाउनुपर्ने र जो लोकप्रिय छ, उसैले नेतृत्व सम्हाल्ने कुरामा आफूहरू प्रस्ट रहेको उल्लेख गरे। पार्टीभित्र नयाँ नभई स्थापित विधि र प्रक्रियालाई नै अवलम्वन गरेर महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा नेता सिंहले नेपाली कांग्रेसको आन्तरिक एकता मजबुत बनाउनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए।