images
images

जन्मिएदेखि मदिरा खाएको पुष्टि भयो भने सांसद पद त्याग्छु: सांसद शाही

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूले मदिरा खाएको पुष्टि भएमा सांसद पद त्याग गर्ने घोषणा गरेका छन्।

जापानमा रहेको समयमा शाहीले सार्वजनिक गरेको एक भिडियोलाई लिएर उनीमाथि अहिले मदिरा सेवन गरिएकोलगायत आरोप लाग्दै आएको छ। सोही विषयमा सोमबार संसद्‌मा समय माग गरेर बोल्दै शाहीले जन्मदेखि हालसम्म एक थाेपा मदिरा खाएको पुष्टि भएमा सांसद पद त्याग गर्ने घोषणा गरेका हुन्।

‘संसद्‌मा स्वास्थ्य विभाग छ। स्वास्थ्यकर्मीको टोली राखियोस् र मेरो प्रत्येक अंग जाँच गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा कहीँ परेको रहेछ भने सांसद पदबाट राजीनामा दिन तयार छु’, उनले भने।

संसद्‌मा आफैलाई अग्नी परीक्षा दिन उभिएको बताउँदै उनले मदिरा खाएको भ्रम संसद्‌मा रहेका सदस्यहरूले फैलाएको बताए। आफूले मदिरा खाएको पुष्टि नभएमा भ्रम फैलाउने सांसदहरूको स्वास्थ्य परीक्षण गर्न उनले माग गरे।