काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार बीच समुद्रमा कम्पास हराएको जहाजजस्तै दिशाहीन भएको टिप्पणी गरेका छन्।
सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा केही पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बालेन्द्र शाहको सरकार दिशाहीन र दुर्घटनाको नजिक भएको बताएका हुन्।
बालेन्द्र शाह सरकारको चर्को आलोचना गरेका प्रचण्डले यो सरकारको आयु धेरै नरहेको टिप्पणी पनि गरेका थिए।
सरकार र रास्वपा नेतृत्वबीच खटपट चलिरहेकोतर्फ इशारा गर्दै प्रचण्डले यसले पनि सरकारको आगामी यात्रा अनिश्चित र दिशाहीन रहेको स्पष्ट भएको बताएका थिए।
‘प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाको पार्टी नेतृत्वबीच पनि खटपट चलिरहेकाले यसले पनि सरकारलाई कमजोर बनाएको छ,’ प्रचण्डले पत्रकारहरूसँग भने।
पछिल्लो समय प्रचण्ड बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आलोचना व्यक्त गरिरहेका छन्।
उनले आफूले प्रधानमन्त्री शाहसँग भेटेर सल्लाह गर्न खोजे पनि भेट्न नचाहेको टिप्पणी एक साताअघि गरेका थिए।








