काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बिपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले बिपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बिपीको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको बताएका हुन्।
पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा बिपीलाई सम्झने गरेको टिप्पणी गरे।
कांग्रेस इतरपक्षलाई लक्षित गर्दै उनले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफै गर्न नसकेर बिपीको नामको सहारा खोजेको बताए। आफूलाई जहाँ चाहिन्छ, त्यहाँ बिपी कोइरालालाई प्रयोग गर्ने प्रवृत्तिले बिपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाइ छ।
बिपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा समूहभित्र मात्र सीमित गर्न नहुने उनले बताए। बिपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले बिपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
उनले भने, ‘म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँठाउँमा भएका छलफलहरूमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ। नेताहरूले फेरि रातारात बिपीलाई सम्झनुभएको छ। रातारात बिपीलाई सम्झिँदा यस्तो ट्रान्ज्याक्सन यहाँ भित्रको अहिले के गर्नुपरेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नुपरेको छ, फेरि हिम्मत छैन फेरि, आफैँ आएर भन्ने। त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बीपीलाई सम्झने।’
बिपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उनले लोकतन्त्र र सामाजिक न्यायप्रतिको बिपीको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए। आर्थिक विकासका विषयमा पनि बिपीका विचारलाई एउटै प्रसंगमा सीमित गर्न नहुने उनको भनाइ छ।
उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बिपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले बताए।








