images
images

१५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने कांग्रेस संस्थापन इतर पक्षको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।

आइतबार सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न प्रस्तावहरू पारित गरेको हो। भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने र त्यसको नेतृत्व देउवाले नै गर्ने निर्णय गरेको छ।

महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधिहरू देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने तय गरिएको छ।

भेलाले वि.सं. २०३३ सालमा बिपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा पनि सान्दर्भिक ठहर गरेको छ। मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति कांग्रेसले लिएको नेता दीपक कुइँकेलले बताए।

बैठकका निर्णयहरू सुनाउँदै कुइँकेलले भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अङ्गको रूपमा स्वीकार गरेको बताए। हिन्दु, बौद्ध, किराँत र प्राकृतलगायतका धर्मको संरक्षण गर्ने दायित्व वोध गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पार्टी प्रतिबद्ध रहने प्रस्ताव पारित गरेको उनले बताए।

संविधानको सम्बन्धमा जनअपेक्षा सम्बोधन गर्न आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार नै सम्बन्धित पक्षहरूसँग संवाद गरी निकास खोजिने जनाइएको छ।

भेलामा प्राप्त विभिन्न सुझाव र प्रस्तावहरूलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ। उक्त समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य रहेका छन् भने मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेलले सहयोगीका रूपमा कार्य गर्नेछन्।