काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताएका छन्।
आइतबार काठमाडौँमा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू हिन्दु भए पनि कुनै धर्म विरोधी नभएको बताए। सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने उनको भनाइ थियो।
आफू हिन्दु धर्ममा पूर्ण विश्वास राख्ने बताउँदै देउवाले आफ्नो धार्मिक आस्थाका बारेमा पहिले पनि पटक–पटक स्पष्ट पारिसकेको उल्लेख गरे। उनले सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिए।
देउवाले आफूले गुहेश्वरीमा हिन्दु रीतिरिवाजअनुसार नै विवाह गरेको स्मरण गरे। आफू पशुपतिनाथको भक्त भएको र त्यहाँ पूजा गर्ने इच्छा सधैँ रहने बताए।
देशको धार्मिक स्वरूप कस्तो हुने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको उल्लेख गर्दै उनले धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको बताए। त्यस क्रममा उनले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा व्याख्या गर्दै यसप्रति आफ्नो उच्च श्रद्धा रहेको उल्लेख गरे।
‘म हिन्दु हुँ। तर म कुनै पनि धर्मको विरोधी होइन। न म क्रिश्चियनको विरोधी हुँ, न मुस्लिमको, न किराँत, राई, लिम्बु वा अन्य कुनै धर्म–समुदायको। नेपालमा सबै धर्मावलम्बीहरूलाई आफ्नो धर्म मान्ने अधिकार छ। मेरो भन्न खोजाइ यति मात्र हो कि म आफूलाई हिन्दु भन्न पाउनुपर्छ र आफ्नो धर्ममा विश्वास गर्न पाउनुपर्छ। क्रिश्चियनले आफूलाई क्रिश्चियन भन्न पाउँछ, मुस्लिमले आफूलाई मुस्लिम भन्न पाउँछ भने मैले पनि आफूलाई हिन्दु भन्न पाउनुपर्छ,’ उनले भने।








