images
images

भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी

काठमाडौं– सेवा शुल्क परिमार्जनसहित १५ बुँदे माग सम्बोधन नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्द गर्ने भएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम रोक्ने जनाएको छ।

यसअघि नै पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिएकोमा अब जारी श्रम स्वीकृति श्रमिकको उडानका लागि दिएको समयसीमा समेत समाप्त भएको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार व्यवसायीको मुख्य माग सेवा शुल्क पुनर्निर्धारण हो। साथै वैदेशिक रोजगार विभागले गरेका कारबाही फिर्ता लिनुपर्नेलगायत माग पनि व्यवसायीले अघि सारेका छन्।

सरकार र व्यवसायीबीच शुक्रबार प्रारम्भिक चरणको छलफल भए पनि ठोस सहमति भने जुटिसकेको छैन। मन्त्रालयले भने वार्ताबाट समस्या समाधान हुने अपेक्षा गरेको छ।

सेवा शुल्क निर्धारणका लागि गठन गरिएको समितिको प्रतिवेदनलाई लिएर समेत व्यवसायी र सरकारी पक्षबीच अन्योल देखिएको छ। व्यवसायीले माग पूरा नभए आन्दोलन जारी राख्ने बताएका छन्। कार्यालय बन्द र श्रमिक पठाउने प्रक्रिया रोकिए वैदेशिक रोजगारीको तयारीमा रहेका हजारौं श्रमिक प्रभावित हुन सक्ने देखिएको छ।