images
images

देउवालाई गगनले भने- वरिपरि बसेर धूप हाल्नेहरूले तपाईँलाई डुबाए दाइ!

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई वरिपरि बसेर धूप हाल्नेहरूले नै डुबाएको टिप्पणी गरेका छन्।

‘जसले वरिपरि बसेर धूप बाले ती आफ्ना लागे, आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्,’ गगनले सोमबार भने।

उनले आफूले पटकपटक देउवासँग भेटेको तर देउवाका निटकस्थहरूले पटकपटक झुट बोलेर उनलाई ढाँटेको पनि बताए।

देउवाले टिकट नपाए पनि देउवाका निकट सबैले टिकट लिएको पनि गगनले प्रस्ट्याए।

‘दाइ तपाईंलाई टिकट नदिए म चुनाव लड्दिनँ भनेर कोही पनि आएन। मेरो दाइलाई टिकट नदिए म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो, ढाँटे दाइ, तपाईँलाई ढाँटे,’ उनले भने।

उनले असोज १६ को १५औं महाधिवेशन उद्घाटन सत्रमा निवर्तमान सभापतिको हैसियतले देउवालाई बोलाइने पनि बताए।

उनले संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म गरेको भेलाको निर्णय पार्टीको अंग नहुने पनि बताए।  भेलाका कुरा राम्रोसँग सुन्ने र आगामी महाधिवेशनमा छलफल गर्न ती प्रस्ताव ल्याउन पनि उनले आग्रह गरेका थिए।

उनले विशेष महाधिवेशनमा सहभागी भएकाहरूलाई ‘फर्जी’ भनेर आफ्नै क्षेत्रका नेताहरूलाई अपमान नगर्न पनि आग्रह गरेका छन्। तत्कालीन नेतृत्वले केन्द्रीय कार्यालयमा हस्ताक्षर रूजु गरिदिएको भए यस्तो भन्ने अवस्थासमेत नआउने उनको भनाइ छ।

‘हस्ताक्षर रूजु गरिदिएको भए यो कुरा त्यहीँ सकिन्थ्यो, रूजु गर्न साथीहरूले नारा पनि लगाएका थिए तर गरिदिएनन्। कृपया तल्लो तहमा रहेका साथीहरूलाई जिस्क्याउने काम नगरिदिनुहोला, भोलि चुनाव लड्न त्यहीँ जानुपर्छ,’ उनले भने।

उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा कसैमाथि विभेद नहुने बताए।

उनले मंगलबारदेखि १५औं महाधिवेशनको प्रक्रिया सुरु हुने पनि जानकारी गराएका थिए।