काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले आफूमाथि हुने अनुसन्धानका लागि तयार रहेको जनाएकी छिन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको समाचार सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक प्रतिशोध र कपोलकल्पित अफवाहको संज्ञा दिएकी हुन्।
दाहालले विगतमा दुबईमा ४० अर्ब रुपैयाँ रहेको, ठूला घरजग्गा तथा भाटभटेनी जस्ता व्यापारिक घरानाहरूमा लगानी रहेको भन्दै दुष्प्रचार गरिएको र ती आरोपहरू पुष्टि हुन नसकेपछि अहिले ५० करोडको नयाँ हावादारी हल्ला चलाउन खोजिएको दाबी गरेकी छन्।
राजनीतिक प्रतिशोधको पनि सीमा हुने उल्लेख गर्दै उनले अफवाह फैलाउनेहरूलाई आरोपको पुष्टि गरेर देखाउन खुला चुनौती दिएकी हुन्।
आफूहरूले संविधान र कानुनबमोजिम सम्पत्ति विवरण सरकारसमक्ष बुझाइसकेको स्पष्ट पार्दै उनले जुनसुकै निकायले गर्ने कानुनी छानबिनमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। गलत काम गरेको पुष्टि भए कारबाही भोग्न तयार रहेको तर बिनाकारण र बिनागल्ती लगाइएका आरोपहरू भने कदापि स्वीकार्य नहुने उनको भनाइ छ।
बाल्यकालदेखि नै क्रान्ति र आन्दोलनको कठिन वातावरणमा हुर्किएको स्मरण गराउँदै उनले जनतालाई धोका नदिने र आर्थिक गलत गतिविधिमा संलग्न नहुने दाबी गरेकी छन्।
आफ्नो व्यक्तिगत जीवनलाई थाती राखेर छोरीको नाताले बुवालाई सहयोग गर्नु अपराध नभएको बताउँदै उनले यस्ता भ्रामक अफवाहको पछि नलाग्न आग्रह गरेकी छिन्।
आयोग दाहालसँगै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवाका स्वकीय भानु देउवा र केपी ओलीका स्वकीय राजेश बज्राचार्यमाथि पनि अनुसन्धान अघि बढाएको बताइएको छ।









