images
images

अख्तियारलाई दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः अमरेशकुमार सिंह

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायहरूको निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यापक सुधारको आवश्यकता रहेको बताएका हुन्। उनले नेपालमा वडा तहदेखि केन्द्रसम्मै भ्रष्टाचार संस्थागत भएको बताए।

प्रहरीको मुद्दा फाँट, सरकारी वकिल कार्यालय, मालपोत र नापी कार्यालयमा आज पनि सर्वसाधारणले घुस नदिई काम गराउन नसक्ने र कर्मचारीबाट दुःख पाउने गरेको उनले बताए।

उनले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई राजनीतिक दलका नेता वा प्रधानमन्त्रीले आफ्नो अनुकूल चलाउन खोजेको आरोप लगाए। संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट पूर्णतः मुक्त हुनुपर्नेमा जोड दिँदै उनले ठूला भ्रष्टाचारका काण्डहरूमा अख्तियार मौन बस्ने तर साना कर्मचारीलाई मात्र कानुनी दायरामा ल्याउने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।

अदालत र अख्तियारजस्ता निकायमा विचौलियाहरूको प्रभाव बढेको दाबी गर्दै उनले कानुनको नजरमा सबै समान हुनुपर्ने बताए। सांसद सिंहले संवैधानिक निकायहरूमा सेवानिवृत्त कर्मचारीहरूलाई नियुक्ति गर्ने विद्यमान प्रथा अन्त्य गर्न सुझाव दिए।

नियुक्ति प्रक्रियामा सुधार नभएसम्म देशमा सुशासन कायम नहुने जिकिर गर्दै उनले संवैधानिक निकायका प्रमुखहरू प्रधानमन्त्रीको निम्तोमा बालुवाटार धाउने परम्परा बन्द हुनुपर्ने बताए।