काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिका कारण मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्ने विषयमा सचेत र जिम्मेवार हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले जानेर वा नजानेर गरिने कुनै पनि गतिविधिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन नहुने बताउनुभयो।
उहाँले विभिन्न संस्थाहरूमा डर र असुरक्षाको भावना देखिन थालेको उल्लेख गर्दै संस्थाहरू कमजोर वा ध्वस्त भए लोकतन्त्रमाथि नै संकट उत्पन्न हुन सक्ने चेतावनी दिनुभयो।
लामिछानेले भन्नुभयो, “जानेर वा नजानेर हामीले गरेका क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्, यो हाम्रो पहिलो जिम्मेवारी हो । आज विभिन्न संस्थाहरू डराएका छन् । संस्थाहरू भत्किए भने लोकतन्त्र भत्किन्छ ।”
उहाँले लोकतन्त्र एकैपटक ढल्ने कमजोर संरचना नभएको बताउँदै शहीदहरूको बलिदान र राजनीतिक दलहरूको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्था बलियो रहेको उल्लेख गर्नुभयो।
पुराना राजनीतिक दलहरूले लोकतन्त्रलाई मजबुत बनाएर वर्तमान पुस्तालाई जिम्मा लगाएको उल्लेख गर्दै उहाँले सुशासनका कमजोरी सच्याउने क्रममा लोकतन्त्र नै कमजोर बनाएको इतिहास लेखाउन नहुनेमा जोड दिनुभयो।
लामिछानेले पार्टी र सरकारमा रहेका सबैलाई अत्यन्त जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।








