images
images

रास्वपा कार्यकर्तालाई रविको निर्देशनः पुराना दलसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी अगामी ३५ वर्षको कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्।

लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेकोसमेत बताए।

उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारातमक कामहरूप्रति धन्यावाद दिनुपर्ने बताए।

उनले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए। कयौँ नेताहरू पनि थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने? अब हामीले दोष देखाउने कुनै कुरा छैन। अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो। ३५ वर्षको योजना ल्याउनुहोस्। अब बितेको ३५ वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यावाद। तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि।’