काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताएका छन्।
राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका हुन्।
उनले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने बताए। दाहालले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने सङ्घर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गरे।
विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीचको ऐतिहासिक सम्बन्ध र बलिदानको स्मरण गर्दै उनले अन्य वामपन्थी दलहरू, खासगरी नेकपा (एमाले) सँगको सहकार्य र एकताको अनुभवबाट शिक्षा लिनुपर्नेमा जोड दिए। विगतका कमीकमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न उनले सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई आह्वान गरे।








