काठमाडौँ – नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अग्रसर भएको आरोप लगाएका छन्।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन्। नेता ज्ञवालीका अनुसार लामो संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेका छन्।
ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको उनको भनाइ छ। संसद्भित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको औँल्याए।
झन्डै दुई–तिहाइको जनादेशका कारण सरकारले भोलि संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
उनले भने, ‘यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ। जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्व छैन, संसद् जसका निम्ति कुनै अर्थको छैन, आफ्नै पार्टीको पनि–जुन पार्टीले उहाँलाई प्रधानमन्त्री बनायो–त्यसको पनि कुनै सरोकार छैन। न्यायालयहरू, अन्य राजनीतिक दलहरू त धेरै टाढाको कुरा भयो। मिडियालगायत यी सबै संस्थालाई किनार लगाउँदै बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ।’








