काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई सोमबार पदमुक्त गरेको छ।
पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको हो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित विज्ञप्तिमा केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको उल्लेख छ।
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले सोमबार राति ८ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको छ। तर विश्वासको मत लिनुअघि नै राप्रपाबाट सरकारमा सहभागी भएका तीन सांसदलाई पार्टीले पदमुक्त गरेको हो।
उनीहरूलाई पदमुक्त गरिएको जानकारीसहितको पत्र सोमबार बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंलाई बुझाइएको छ। उक्त पत्र प्रदेशसभा सचिवालयमा समेत दर्ता भएको जनाइएको छ।
राप्रपा केन्द्रको निर्णयविपरीत पार्टीको बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए। त्यसपछि राप्रपाका तीन सांसद सरकारमा सहभागी भएका थिए।
पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको विषयलाई लिएर राप्रपाभित्र बागमतीमा विवाद चर्किँदै आएको थियो। सोमबार तीन सांसदलाई पदमुक्त गर्ने निर्णयसँगै उक्त विवाद थप सतहमा आएको छ।









