images
images

महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु

काठमाडौं– मंगलबार दिउँसो नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला ट्राफिक प्रहरीलाई हात पात गर्ने युवक पक्राउ परेका छन् ।

नयाँ बानेश्वरदेखि थापागाउँ जाने आकाशे पुलमुनि ड्युटीमा खटिएकी ट्राफिक प्रहरीलाई एक युवकले गालीगलौजसहित पात पात गरेका थिए ।

प्रहरीले दिएको जानकारी र सामाजिक सञ्जालमा सार्वजनिक भिडियो अनुसार ती युवकलाई महिला प्रहरीमाथि हातपात गरिरहेका बेला छुटाउन हम्मे हम्मे परेको थियो ।

त्यसपछि प्रहरीले जुम्लाको तातोपानी गाउँपालिका २ घर भइ हाल काठमाडौं ३१ मा बस्दै आएका २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद अनुमति लिइ अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार कठायतले पुल मुनिबाट बाटो काट्न लाग्दा ती महिला प्रहरीले त्यसो नगर्न भनेकी थिइन् । अटेरी गरेपछि महिला ट्राफिकले सम्झाउन खोज्दा उनी एक्कासी झम्टिएको प्रहरीले जनाएको छ ।