images
images

हंस सहकारीले सदस्यलाई शून्य प्रतिशत ब्याजमा विद्युतीय चुलो दिने

भरतपुर — हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य परिवारलाई विद्युतीय चुलो प्रयोगतर्फ प्रोत्साहित गर्दै ‘विद्युतीय चुलो किस्ता योजना’ सार्वजनिक गरेको छ।

योजनामार्फत सहकारीले रु. ३ हजार ६ सय मूल्यको विद्युतीय चुलो १२ महिनाको किस्तामा उपलब्ध गराउने भएको हो।

सहकारीका अनुसार सदस्यले मासिक रु. ३०० का दरले १२ किस्ता तिरेर चुलो लिन सक्नेछन्। योजनामा ब्याज तथा सेवा शुल्क नलाग्ने भएकाले सदस्यले चुलोको मूल्यबापत रु. ३ हजार ६ सय मात्रै भुक्तानी गर्नुपर्नेछ। चुलोमा एक वर्षको वारेन्टीसमेत उपलब्ध हुनेछ।

योजनामा म्याग्नस इन्डक्सन चुलो र अर्किड इन्फ्रारेड चुलो गरी दुई प्रकारका चुलो उपलब्ध छन्। म्याग्नस इन्डक्सन चुलो चुम्बकीय स्टिल तथा फलामका भाँडाका लागि उपयुक्त हुने र तुलनात्मक रूपमा कम विद्युत् खपतमा छिटो खाना पकाउन सकिने सहकारीले जनाएको छ। अर्किड इन्फ्रारेड चुलोमा विभिन्न प्रकारका भाँडा प्रयोग गर्न सकिने भएकाले रोटी सेक्न तथा परम्परागत भाँडा प्रयोग गर्ने परिवारका लागि समेत उपयोगी हुने बताइएको छ।
सहकारीले ग्यासको बढ्दो मूल्य तथा आपूर्तिमा देखिने समस्याको विकल्प खोज्दै सदस्य परिवारको भान्सा खर्च घटाउने र स्वदेशी विद्युत्को खपत बढाउने उद्देश्यले योजना ल्याएको जनाएको छ।

विद्युतीय चुलोको प्रयोगले ग्यास सिलिन्डरमाथिको निर्भरता घटाउनुका साथै भान्सामा खुला आगोबाट हुने जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्ने संस्थाको विश्वास छ।

योजना लिन आवेदक हंस सहकारीको शेयर सदस्य हुनुका साथै नियमित बचत खाता सञ्चालनमा रहेको हुनुपर्नेछ। त्यस्तै, सहकारी वा अन्य वित्तीय संस्थाबाट लिएको कर्जामा खराब ऋणी नभएको हुनुपर्ने व्यवस्था गरिएको छ। आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट आकारको फोटो, बचत पासबुकको प्रतिलिपि तथा जमानी वा दस्तखत आवश्यक पर्नेछ।

इच्छुक सदस्यले सहकारीको प्रधान कार्यालय भरतपुर–१, शहीदचोक, नारायणगढसहित टाँडी, विजयनगर र जितपुर सेवा केन्द्रबाट आवेदन दिन सक्नेछन्। आवेदन स्वीकृत भएपछि सोही दिन चुलो हस्तान्तरण गरिने र किस्ता भुक्तानी अर्को महिनादेखि सुरु हुने सहकारीले जनाएको छ।
सहकारीका अध्यक्ष दिनेश कुमार चुकेले योजना नाफा कमाउने उद्देश्यभन्दा सदस्यको दैनिक जीवनलाई सहज, सुरक्षित र किफायती बनाउने उद्देश्यले अघि सारिएको बताए। उनका अनुसार ब्याज तथा सेवा शुल्क नलिई किस्तामा चुलो उपलब्ध गराउने व्यवस्थाले सदस्यलाई एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता हटाउनेछ।

सहकारीले विद्युतीय चुलो प्रयोग गर्नुअघि घरको विद्युतीय तारजडान, मिटरको क्षमता र अर्थिङ जाँच गर्न तथा धेरै उपकरण जोडिने विस्तार तारको प्रयोग नगर्न सदस्यलाई सुझाव दिएको छ।