images
images

उद्धार कोषमा एकैदिन २७ करोड ३३ लाख संकलन

काठमाडौं :रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, खोज तथा पुनर्स्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट व्यापक सहयोग जुट्न थालेको छ।

बाढीपीडितको सहयोगका लागि गठित एकद्वार प्रणालीमार्फत अर्थ मन्त्रालय पुगेर विभिन्न १० वटा निजी तथा सरकारी कम्पनी एवम् संघ-संस्थाहरूले एकैदिन कुल २७ करोड ३३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सहयोग रकमको चेक तथा प्रतिबद्धतापत्र ग्रहण गर्नुभएको हो। संकलित सम्पूर्ण रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा निजी तथा सरकारी क्षेत्रका प्रतिष्ठित संस्थाहरूले उक्त रकम बराबरको चेक अर्थमन्त्री वाग्लेलाई बुझाएका हुन्। विपद्को यस विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व वहन गर्दै उद्योगी, व्यवसायी तथा वित्तीय संस्थाहरूले देखाएको यो तत्परताको अर्थमन्त्री डा. वाग्लेले प्रशंसा गर्नुभयो।

कुन संस्थाको कति सहयोग?

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको रकम विवरण यस प्रकार छ:

क्र.सं. दाता संस्था/कम्पनी (Sender) सहयोग रकम (रु.)
नेपाल बैंक लिमिटेड (Nepal Bank Limited) ३,०१,००,०००/-
गोर्खा ब्रुअरी (Gorkha Brewery) १०,००,०००,००/-
कुमारी बैंक लिमिटेड (Kumari Bank Limited) ३,००,००,०००/-
राष्ट्रिय वाणिज्य बैंक (Rastriya Banijya Bank) ३,००,००,०००/-
निफ्रा बैंक (NIFRA Bank) २,५०,००,०००/-
एनआईसी एशिया बैंक (NIC Asia Bank) २,२१,००,०००/-
सारस बेभरेज / रेडबुल (Saras Beverage – Redbull) २,००,००,०००/-
एनसेल एसियाटा (Ncell Axiata) १,००,००,०००/-
शिव शक्ति ग्रुप (Shiv Shakti Group) ५१,००,०००/-
१० रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज (Reliance Sugar and Chemical Industries) १०,००,०००/-
जम्मा कुल संकलित रकम २७,३३,००,०००/-

(अक्षरूपी: सत्ताइस करोड तेत्तीस लाख रुपैयाँ मात्र)

सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले एकद्वार प्रणालीमार्फत पारदर्शी ढंगले वास्तविक बाढीपीडितसम्म राहत पुर्‍याइने र क्षतिको विस्तृत विवरण आएपछि एकीकृत पुनर्निर्माण अभियान थालिने बताउनुभयो।

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा भोटेकोशीको बाढीले भौतिक पूर्वाधार, जलविद्युत् आयोजना र स्थानीय बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको छ। सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय तथा हेलिकप्टरहरू परिचालन गरिसकेको छ भने विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्था तथा मित्रराष्ट्रहरूबाट पनि सहयोग प्राप्त भइरहेको छ।