काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बिहीबार बैंकका सञ्चालक समिति अध्यक्ष डा. सुमन दाहालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति थियो।
हालै भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण कयौं नागरिक बेपत्ता हुनुका साथै प्रभावित परिवारहरू अझै उद्धार तथा राहतको पर्खाइमा रहेका छन्।
बाढीपीडित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले बैंकले कोषमार्फत उक्त रकम सहयोग गरेको जनाएको छ।
बैंकले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गरेको छ। साथै, प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ।









