images
images

फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

धादिङ– चीनतर्फबाट पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएपछि धादिङ प्रशासनले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति बसेको आपत्कालीन सुरक्षा बैठकले बाढीको जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको हो।

प्रशासनका अनुसार गल्छी, आदमघाट, गलौँदी, मलेखु, बेनीघाट र जोगीमारा लगायतका त्रिशूली नदी आसपासका क्षेत्र बाढीको उच्च जोखिममा छन्।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई नदी किनारमा नजान तथा सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।