“चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्यांकन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार, नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो,” लिनले भने। उनले विपद् व्यवस्थापन तथा उद्धारका सम्बन्धमा शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बैठकले गरेका निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।

यसैबीच, चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उच्च हिमाली क्षेत्रमा रहेको ग्लेसियर पग्लिएर ताल बन्न थालेको दाबी गर्दै ड्रोनबाट खिचिएको तस्बिर सार्वजनिक गरेको छ। चीनको तिब्बत क्षेत्रमा बनेको जलाधार तथा हिमनदी क्षेत्रमा आएको परिवर्तनपछि नेपालतर्फ भोटेकोशी नदीमा भीषण बाढी आएको र त्यसले ठूलो जनधनको क्षति पुर्याएको छ।
यद्यपि, हिमनदी भत्किनुको कारण, त्यसबाट बनेको तालको आकार तथा बाढीमा त्यसको प्रत्यक्ष योगदानबारे विस्तृत प्राविधिक अध्ययन भने आवश्यक रहेको देखिन्छ। यसअघि चीन र नेपालका अधिकारीहरूले बाढी तथा पहिरोपछि सीमा क्षेत्रका जोखिमयुक्त स्थानमा खोज तथा उद्धार कार्यसँगै सम्भावित थप बाढीको जोखिमबारे निरन्तर निगरानी गरिरहेका छन्।









