images
images

बाढीपीडितका लागि १५ करोडभन्दा बढी सहयोग, चौधरी फाउन्डेसनले बनाउने भयो ५०० अस्थायी घर

काठमाडौं – चौधरी फाउन्डेसनले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा गरेको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन उक्त सहयोग घोषणा गरेका हुन्।

फाउन्डेसनका अनुसार सहयोगअन्तर्गत प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण, राहत शिविर सञ्चालन र ५०० वटा अस्थायी घर निर्माण गरिनेछ।

प्राकृतिक विपद्का कारण घरबार तथा आधारभूत आवश्यकता गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले सहयोग कार्यक्रम अघि बढाइएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। खाद्यान्न र स्वास्थ्य सामग्रीको व्यवस्थापनदेखि अस्थायी आवास निर्माणसम्मका कामलाई प्राथमिकतामा राखिएको छ।

चौधरी फाउन्डेसनले यसअघि पनि नेपालमा विभिन्न समयमा आएका प्राकृतिक विपद्का क्रममा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको छ।

फाउन्डेसनले यसपटकको सहयोगलाई पनि विपद्बाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्दै पुनःस्थापनाको प्रक्रियामा सहयोग पुर्‍याउने महत्वपूर्ण पहलका रूपमा अघि बढाएको जनाएको छ।