images
images

चीनले भन्यो– ल्हेन्देको सिरानमा बनेको तालको रङ बदलियो, फुट्न सक्छ

चीनले ल्हेन्दे खोलामाथि बनेको तालको रङ बदलिएको उल्लेख गर्दै कुनै पनि बेला फुट्न सक्ने जनाएको छ।

तालको रङ गाढा हुँदै गएकाले कुनै पनि बेला फुट्न सक्ने उल्लेख गर्दै चीनले परराष्ट्र मन्त्रालयलाई सन्देश पठाएको हो।

‘अस्तिदेखि बनिरहेको तालको रङ गाढा हुँदै गएको छ। अर्थात् यो फुट्न सक्छ,’ चीनले पठाएको मेसेजमा भनिएको छ, ‘पानीको मात्रा ठूलो नभएकाले तल्लो तटीय क्षेत्रको खोलामा पानीको बहाव थोरै बढ्न सक्छ। तर ठूलो हुने सम्भावना छैन। तल्लो तटीय क्षेत्रका समुदायहरूले सावधानी अपनाउनु उत्तम हुन्छ।’

ल्हेन्दे खोलाको सिरानमा हिमचट्टान फुटेर पानीको बहाव रोकिँदा ताल बनेको छ।

चीनतर्फको छोचेन र नेपालतर्फको पुरेपु खोलाको दोभान लेदोसहितको बाढीले थुनिएको छ। त्यहाँ अहिले क्रमशः पानीको सतह बढिरहेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म तालमा २५ लाख घनमिटर पानी जम्मा भइसकेको छ।

चीनले ताल विस्फोट भए कस्तो क्षति पुर्‍याउन सक्छ भनेर बाढीको ‘मोडलिङ’ समेत गरेको थियो।

चिनियाँ पक्षले ताल विस्फोट भए पनि प्रति सेकेन्ड ५०० घनमिटरसम्म पानी नदीमा आउन सक्ने जनाएको छ।

‘यदि आंशिक रूपमा बाँध फुट्यो भने पानीको अधिकतम बहाव प्रति सेकेन्ड ५०० घनमिटर हुन्छ सक्छ,’ चीनले पठाएको सन्देशमा भनिएको छ, ‘यो नदीको किनाराभित्रै सीमित रहनेछ।’