images
images

बाढीपीडितको साथमा निजी क्षेत्र : चेम्बरको राहतदेखि ड्रोन र सोलार पावर बैंकसम्म सहयोग

काठमाडौं — भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनामा निजी क्षेत्रले पनि सक्रियता बढाएको छ। नेपाल चेम्बर अफ कमर्सले बाढी प्रभावित नागरिकका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण गर्दै उद्धार तथा विपद् व्यवस्थापनमा आफ्नो सहयोगलाई निरन्तरता दिएको छ।

चेम्बरले आइतबार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई राहत सामग्री हस्तान्तरण गरेको हो।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राको नेतृत्वमा पुगेको टोलीले युथ चेम्बरबाट संकलन गरिएको सामग्रीसमेत समावेश गरी राहत हस्तान्तरण गरेको जनाएको छ।

राहत सामग्रीमा चिउरा, विभिन्न प्रकारका बिस्कुट, दाल, आयोडिनयुक्त नुन, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा, मास्क तथा टिसर्टलगायतका सामग्री छन्।

चेम्बरका अनुसार राहतमा ३४ बोरा चिउरासहित थप चिउरा, कोदोको बिस्कुट ८० कार्टुन, मकै–मह बिस्कुट ८३ कार्टुन र चोको चिप्स बिस्कुट ८७ कार्टुन समावेश छन्। त्यस्तै, सेनिटरी प्याड १० कार्टुन, आयोडिनयुक्त नुन ७ कार्टुन, टुथपेस्ट १ कार्टुन, टुथब्रस २ कार्टुन तथा पञ्जा र मास्क ३ कार्टुन पनि हस्तान्तरण गरिएको छ।
कपडातर्फ २५० थान टिसर्ट तथा थप ७३ थान ‘आक्र्स फुड’ लेखिएका टिसर्ट र १० केजी दालसमेत राहत सामग्रीमा रहेको चेम्बरले जनाएको छ।

राहतमा मात्रै सीमित छैन चेम्बरको सहयोग
बाढीपछि चेम्बरले खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरणमा मात्रै सहयोग केन्द्रित गरेको छैन। उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन प्रविधिसमेत उपलब्ध गराउँदै आएको छ।

यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ वटा ड्रोन उपलब्ध गराएको थियो। त्यस्तै, नुवाकोटको विदुर नगरपालिकालाई दुई वटा ड्रोन र १२५ वटा पावर बैंक हस्तान्तरण गरिएको जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा सञ्चार र मोबाइल उपकरण सञ्चालनका लागि विद्युत् आपूर्ति चुनौतीपूर्ण बन्ने अवस्थालाई ध्यानमा राख्दै चेम्बरले भारतबाट ५०० थान सोलार पावर बैंक मगाउने व्यवस्था पनि गरेको छ।

चेम्बरले प्रभावित जिल्लाका जिल्ला चेम्बरहरूलाई तत्काल राहत तथा उद्धार कार्यमा जुट्न नगद सहयोगसमेत उपलब्ध गराएको जनाएको छ।
लियो काउन्सिलसँग पनि सहकार्य
नेपाल चेम्बर अफ कमर्सले लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालसँग सहकार्य गरी बाढी प्रभावित नागरिकका लागि थप राहत सामग्री उपलब्ध गराएको छ।

उक्त राहतमा खानेपानी, चाउचाउ, बिस्कुट, साबुन, टूथपेस्ट, टुथब्रस, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा तथा ग्लोभ्सलगायतका सामग्री छन्।

भोटेकोसी क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्पछि उद्धार र राहतमा सरकारी संयन्त्रसँगै निजी क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहभागिता पनि बढेको छ।
नेपाल चेम्बर अफ कमर्सले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारसँग सहकार्य गर्दै उद्धार, राहत र पुनर्स्थापनामा सहयोग जारी राख्ने जनाएको छ।

राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्य कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो र रुजुल श्रेष्ठलगायतको उपस्थिति थियो।

खाद्यान्नदेखि स्वास्थ्य सामग्री र प्रविधिसम्मको सहयोगमार्फत चेम्बरले विपद् प्रभावित क्षेत्रमा तत्काल राहतसँगै उद्धार क्षमतालाई समेत सहयोग पुर्‍याउने प्रयास गरेको जनाएको छ।