काठमाडौँ- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले सम्पर्कविहीन हुनेमा २५ जना प्रहरी समेत रहेकोमा ३ जना मृत फेला परी सनाखत समेत भइसकेको जानकारी दिए।
उनले सम्पर्कविहीन हुने कर्मचारीहरुमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९ सय ३३ जना रहेको जानकारी दिए।
प्रवक्ता काफ्लेले रसुवाबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताए।
उनले काठमाडौं उपत्यकामा ४ सय ८१ जना तथा कोशी प्रदेशमा १ सय ३८ जना सम्पर्कविहीन रहेको आएको समेत बताए।
उनले गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताए।
उनका अनुसार बाढीमा परी सम्पर्कविहीन हुनेमा ७ सय ४५ जना आन्तरिक तथा बाह्य पर्यटकसमेत रहेका छन्।
उनले हालसम्म बाढी प्रभावित जिल्लाहरुमा ७ सय ३५ जनाको शव फेला परेको समेत बताए।
उनले विपद्पछि खोज, उद्धार र राहतमा ७ हजार ८ सय ८९ जना परिचालन गरिएको बताए।
उनले आइतबार विहानै बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा करिब सात मिटर सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताए।
उनले अहिले टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी भइरहेको बताए।
हाइड्रोपावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्लेले बताए।
उनले भने, पृथ्वी राजमार्गको धादिङको रोराङ गाउँपालिका—७ कृष्णभीरमा ७ मिटर बाटो समेत भासिएको कारण पूर्ण रुपमा अवरुद्ध छ। आइतबारको बाढीले गल्छीमा थप चार वटा घर बगाएको अवस्था छ। त्यसैगरी ८ वटा घर जोखिममा रहेका छन्। खोज र उद्धारको कार्य आज पनि जारी छ । खासगरी टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीमा पुरिएका घर र शवहरुको अवस्था बुझ्ने काम भइरहेको छ । हाइड्रोको टनेलहरूमा भइरहेको उद्धारको प्रयास आज पनि जारी छ।’
उनले खनाखत हुन नसकेका केही शवहरुको व्यवस्थापन गरिएको समेत जानकारी दिए। उनले शवहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी व्यवस्थापन गरिएको स्पष्ट पारे।
–न्युज एजेन्सी नेपाल








