images
images

त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी

काठमाडौं– नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि टोलीले रातभर कामलाई निरन्तरता दिने भएको छ।

तीन दिनदेखि निरन्तर खोजीमा खटिएको टोलीले सुरुङभित्र पुग्ने सम्भावित ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। उक्त मार्गबाट उद्धार टोलीले भित्र प्रकाश पठाएर फसेका व्यक्तिको संकेत लिन प्रयास गरे पनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

उद्धारमा संलग्न टोलीले सुरुङभित्र पहुँच बनाउने उद्देश्यले रातभर खन्ने काम गर्ने जनाएको छ। साथै भेन्टिलेसन तथा अक्सिजन पठाउने काम पनि सँगसँगै अघि बढाइनेछ। उद्धारकर्ता प्रवेश गर्न सक्ने ‘क्राबल–थ्रु प्यासेज’ निर्माण गरी सुरुङको माथिल्लो भागसम्म पुगेर भित्रको अवस्था निरीक्षण गर्ने योजना बनाइएको छ।

यो प्रयास सफल नभए सोमबार बिहान नेपाली सेनाले नियन्त्रित विस्फोटमार्फत सुरुङको अवरोध हटाउने तयारी गरेको छ।

उद्धारमा नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञहरूको टोली परिचालित छन्। आयोजनाको भूमिगत विद्युत् गृहमा काम गरिरहेका करिब ४०–४२ जना प्राविधिक सुरुङभित्र फसेको अनुमान गरिएको छ। पाँच दिनसम्म उद्धार हुन नसक्दा उनीहरूको अवस्थाप्रति चिन्ता बढेको छ।