दमौली – त्रिशूली र भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लब अफ तनहुँ सत्यवतीले ४० हजार रुपैयाँ सहयोग गरेको छ।
विपद्को पीडामा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्लबले उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराएको हो। क्लबकी अध्यक्ष गीता श्रेष्ठका अनुसार क्लबका पदाधिकारी तथा सदस्यहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी राहतका लागि सहयोग गरेका हुन्।
विपत्तिको समयमा पीडितको साथमा उभिनु मानवीय र सामाजिक दायित्व भएको भन्दै क्लबका सदस्यहरूले व्यक्तिगत खर्चमा समेत मितव्ययिता अपनाएर सहयोग रकम जुटाएका थिए।
लायन्स क्लब अफ तनहुँ सत्यवती सामाजिक तथा मानवीय सेवामा सक्रिय संस्था हो। समाजमा आवश्यकताअनुसार विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको क्लबले प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकको पीडामा साथ दिनु आफ्नो जिम्मेवारी भएको जनाएको छ।
‘जहाँ सहयोगको आवश्यकता, त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै क्लबले मानवीय सेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको अध्यक्ष श्रेष्ठले बताइन्।
उनले विपत्तिको समयमा गरिने सहयोग आर्थिक सहयोगमा मात्र सीमित नहुने उल्लेख गर्दै यसले पीडामा रहेका नागरिकप्रति मानवीय संवेदना, सहानुभूति र सामाजिक एकताको सन्देश दिने बताइन्।
“नेपालीलाई आपत् पर्दा नेपालीले नै साथ दिनुपर्छ भन्ने भावनाका साथ हामीले सहयोग गरेका हौं,” अध्यक्ष श्रेष्ठले भनिन्, “सहयोगको रकमभन्दा पनि विपत्तिमा परेका नागरिकप्रति साथ र भरोसाको भावना महत्वपूर्ण हुन्छ।”
क्लबले यसअघि पनि विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा सहयोग र सहभागिता जनाउँदै आएको जनाएको छ। आगामी दिनमा पनि समाजको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने क्लबले जनाएको छ।








