images
images

बेत्रावतीको एउटै घरबाट २४ शव फेला

नुवाकोट -भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उक्त घरबाट सोमबार २४ शव फेला परेका हुन्।

घरभित्र अझै खोजी कार्य जारी रहेकाले शवको संख्या थपिन सक्ने उनले बताएका छन्। ‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरू खोज्दैछौं। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ एसपी रेग्मीले भने।

प्रहरीका अनुसार उक्त घर कसको हो र त्यहाँ एकैपटक ठूलो संख्यामा मानिस कसरी पुगे भन्नेबारे अनुसन्धान भइरहेको छ। घरको पहिचानसमेत अहिलेसम्म स्पष्ट हुन सकेको छैन। एसपी रेग्मीले उक्त संरचना होटल वा गेस्ट हाउसजस्तो देखिए पनि यकिन पुष्टि हुन बाँकी रहेको बताए। स्थानीय वडाध्यक्षसँग समेत सम्पर्क हुन नसकेको उनको भनाइ छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सोमबारसम्म ९ सयभन्दा बढी शव फेला परिसकेका छन् भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजी तथा उद्धार अभियान जारी राखिएको छ।