images
images

पृथ्वी राजमार्ग अवरुद्धको असरः उपत्यका बाहिर भरिँदै एलपी ग्यास

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीले वैकल्पिक व्यवस्था थालेका छन्।

ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लामा रहेका ग्यास उद्योगले राजधानी बाहिरकै उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ।

उपत्यका तथा छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरेर ग्यास भर्ने व्यवस्था मिलाएका छन्। संघका अनुसार उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने गर्छ। त्यसैले सडक अवरोधका कारण आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक व्यवस्थामार्फत ग्यास ल्याउन थालिएको हो।

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याइने जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाका उद्योगमा भरिएका ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडकबाट काठमाडौं उपत्यका भित्र्याइनेछ।

कालाखेतीले बाहिरी उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र आसपासका क्षेत्रमा ग्यासको अभाव नहुने दाबी गरेका छन्। उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्नसमेत आग्रह गरेका छन्। उनका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्। एभरेस्ट र सुगमले पनि साहारा उद्योगमा ग्यास भर्न थालेका छन्।

अन्य उद्योगहरूले पनि राजधानी बाहिर रहेका उद्योगसँग समन्वय गरी ग्यास भर्ने प्रक्रिया अघि बढाइरहेको संघले जनाएको छ।