हेटौंडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं सडकमा बढेको सवारी चाप व्यवस्थापन गर्न आजदेखि सवारीसाधनका लागि छुट्टाछुट्टै आवागमन मार्ग तोकिएको छ।
स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालन हुनेछन्। यस्तै, काठमाडौंबाट हेटौंडातर्फ आउने साना यात्रुवाहक सवारीसाधनले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र काठमाडौं उपत्यकाबाट हेटौंडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप वैकल्पिक सडकमा बढेको हो।
प्रशासनले नयाँ रुट व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम कम गर्नुका साथै लामो समयसम्म सवारीसाधन रोकिनुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्ने जनाएको छ।








