काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि बिजी ग्रुप प्रालिले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
ग्रुप मातहत सञ्चालित विभिन्न योजनाहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
मंगलबार आयोजित एक कार्यक्रममा बिजी ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि पीडितहरूको तत्काल उद्धार र पुनस्र्थापनामा सघाउ पुर्याउने उद्देश्यले यो रकम प्रदान गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष लामिछानेले विपद्को कठिन घडीमा नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको बताउँदै यस सहयोगले पीडितको घाउमा केही मात्रामा भए पनि मलम लगाउने विश्वास व्यक्त गरे।
इप्पानका पूर्व अध्यक्ष कार्की र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य लामिछानेको नेतृत्वमा रहेको यस ग्रुपले व्यवसाय केवल नाफाका लागि मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहका लागि पनि हो भन्ने सन्देश दिएको छ।
पाँचभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योगहरू सञ्चालन गरिरहेको बिजी ग्रुपको यस कदमले संकटको समयमा निजी क्षेत्र र राज्यबीचको सहकार्यलाई थप मजबुत बनाएको छ।
विपद्को समयमा निजी क्षेत्रबाट भएको यो ठूलो सहयोगले अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।








