images
images

कृष्णभीर पहिरो व्यवस्थापनका लागि तत्काल अस्थायी संरचना बन्छ: मन्त्री लम्साल

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरो रोकथाम, सडक सञ्चालन तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयले निर्णयहरू गरेको मन्त्री सुनिल लम्सालले बताएका छन्।

मन्त्री लम्सालले सामाजिक सञ्जालमार्फत मंगलबार बसेको मन्त्रालयको बैठकले गरेका निर्णयहरूबारे जानकारी दिएका हुन्।

निर्णयअनुसार तत्काल विपद्को सामना गर्न तथा प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माण कार्य तत्काल अघि बढाइनेछ।

यसका साथै नयाँ ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कार्यसमेत अगाडि बढाइने भएको छ।

त्यसैगरी कृष्णभीरको दीर्घकालीन समाधान खोज्न टनेल (सुरुङ), सोइल नेलिङ, सिट पाइललगायतका प्राविधिक विकल्पहरूबारे सडक विभागले आवश्यक अध्ययन गर्नेछ।

कृष्णभीरको विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित उपायहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडक व्यवस्था गर्ने योजना मन्त्रालयले बनाएको छ।

यी सम्पूर्ण विकल्पहरूको प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ।

यस प्रयोजनका लागि आवश्यकताअनुसार सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीबीच समझदारीपत्र (एमओयू) गरिने भएको छ।