काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख ब्यक्त गरेका छन् ।
खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद्लगत्तै उद्धारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।








