images
images

‘बाढीले सिङ्गो नेपालको छातीमा बज्रपात गरेको छ, बिलौना गर्ने समय छैन’ : प्रधानमन्त्री शाह

काठमाडौं –प्रधानमन्त्री बालेन शाहले बाढीपछि रसुवा, नुवाकोट, धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै बाढीपछि मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको बताएका हुन्।

उनले घाइते शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडामा गहिरो महसुस गरेको बताए।

उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन।’

सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्ने यथार्थलाई स्वीकार गरेको बताए।

उनले थपे, ‘दृढ सङ्कल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ।’

घटनापछि सरकारले मानिसहरूको जीवन रक्षाका लागि गरिरहेको कामबारे सदनलाई जानकारी गराए।