images
images

यस्तो छ सरकारमाथि उठेका पाँच प्रश्नमा प्रधानमन्त्री बालेनको जवाफ

काठमाडौं – भोटेकोशी बाढीको व्यवस्थापनलाई लिएर सरकारमाथि उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मै जवाफ दिएका छन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारको पूर्वतयारी, उद्धार, शव व्यवस्थापन, विदेशी विज्ञको परिचालन तथा प्रदेश र स्थानीय तहसँगको समन्वयलाई लिएर प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सरकारको धारणा सार्वजनिक गरेका हुन् । ‘सरकारमाथि उठेका प्रश्नको जवाफ दिन्छु’ भन्दै प्रधानमन्त्री शाहले मुख्य पाँच विषयमा सरकारको बचाउ गरेका छन् ।

१. बाढी आउनुअघि सूचना किन दिइएन ?

बाढी आउनुअघि तल्लो तटीय क्षेत्रमा समयमै सूचना प्रवाह हुन नसकेको प्रश्नमा प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढी ठूलो र पूर्वानुमानभन्दा बाहिरको घटना भएको दाबी गरे । उनका अनुसार बाढी आउँदै गरेको सूचना पाएलगत्तै सुरक्षाकर्मी स्थानीयलाई सतर्क गराउन परिचालन भएका थिए । तर, त्यही क्रममा सुरक्षाकर्मीसमेत बेपत्ता भएको उनले बताए ।

२. शव जमिनमुनि किन राखियो ?

बाढीमा ज्यान गुमाएकाहरूको शव चिस्यान केन्द्रमा नराखी जमिनमुनि व्यवस्थापन गरिएको भन्दै उठेको प्रश्नमा प्रधानमन्त्री शाहले कानुनी र वैज्ञानिक आधारमा यस्तो गरिएको बताए । उनका अनुसार बाढीले शवलाई विभिन्न स्थानमा पुर्‍याएकाले तत्काल पहिचान गर्न नसकिएका शवलाई डीएनएलगायत पहिचानका आधार सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गरिएको हो । डीएनए परीक्षणबाट पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव बुझाइने र परिवारले आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्न सक्ने उनले बताए । प्रधानमन्त्रीले शव व्यवस्थापनबारे भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।

३. विदेशी उद्धार टोलीलाई ढिला किन अनुमति दिइयो ?

भोटेकोशी बाढीपछि विदेशी विज्ञ तथा उद्धार टोली परिचालनमा ढिलाइ भएको प्रश्नमा प्रधानमन्त्री शाहले सरकारले सुरुदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिरहेको दाबी गरे । उनका अनुसार प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग लिन सरकारले प्रक्रिया छोटो बनाउने प्रयाससमेत गरेको थियो ।

भारत र चीनका विज्ञ टोलीले सुरुदेखि नै चासो देखाएको र प्रभावित क्षेत्रमा पुगेको उनले बताए । हवाई अनुगमनबाट तत्काल घटनास्थलमा ओर्लन नसकिने अवस्था रहेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक्स्काभेटर पुग्न तथा हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था बनेपछि विदेशी टोली घटनास्थलमा पुगेको प्रधानमन्त्रीको भनाइ छ ।

४. सुरुङमा फसेकाको उद्धार किन हुन सकेन ?

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारबारे उठेको प्रश्नमा प्रधानमन्त्री शाहले घटनालगत्तै खोजी तथा उद्धारलाई तीव्रता दिइएको बताए । घटनास्थलमा हेलिकोप्टर पुग्न सक्ने तथा घाइते भेटिएका स्थानमा तत्काल उद्धार गरिएको उनले बताए । जलविद्युत् आयोजनाका सुरुङमा भने नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको प्रधानमन्त्रीले जानकारी दिए ।

५. प्रदेश र स्थानीय तहसँग समन्वय भयो कि भएन ?

विपद् व्यवस्थापनमा सरकार सुरक्षाकर्मी, विशेषगरी नेपाली सेनामाथि मात्रै निर्भर भएको र प्रदेश तथा स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरेको आरोपबारे पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । उनले सुरुदेखि नै प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधिसँग निरन्तर संवाद भइरहेको दाबी गरे । प्रधानमन्त्री शाहले आफू नुवाकोट पुग्दा बागमती प्रदेशका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरेको र त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी आ–आफ्नो जिम्मेवारी अझ गम्भीर रूपमा निर्वाह गर्ने निर्णय गरेको बताए ।

भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाको विषयमा सरकारमाथि सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको संसद् सम्बोधनले ती प्रश्नमाथि सरकारको औपचारिक धारणा सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सरकार सक्रिय रहेको दाबी गर्दै आगामी दिनमा पनि सबै पक्षको साथ र सहकार्य आवश्यक रहेको बताएका छन् ।