images
images

कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति

काठमाडौं– नेपाली कांग्रेसको आन्तरिक विवाद चरमउत्कर्षमा पुगेको छ । बिहीबार संस्थापनलाई चुनौती दिँदै कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले १५औं महाधिवेशनको मिति तोक्ने निर्णय गरेको छ ।

बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधबार उक्त मिति प्रस्ताव गरिएकोमा आज निर्णय गरिएको हो । बैठकले वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका पनि तय गरेको छ।

बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठनको जिम्मेवारी पार्टीका नेता शशांक कोइरालालाई दिने निर्णय गरेको छ।

त्यस्तै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिने निर्णय भएको छ।

बैठकले ७७ वटै जिल्लामा महाधिवेशन तयारी समिति गठन गर्न केन्द्रीय प्रतिनिधि पठाउने र तोकिएको समयभित्र जिल्ला, निर्वाचन क्षेत्र, पालिका तथा वडा तहका अधिवेशन तयारी समिति गठन गरिसक्ने निर्णय गरेको छ।

क्रियाशील सदस्यताको विषयमा पनि बैठकले विभिन्न मापदण्ड तय गर्दै विवाद भएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने व्यवस्था गरेको छ। प्रदेशसभा तथा स्थानीय तह निर्वाचनका लागि इच्छुक उम्मेदवारको नामावली संकलन र उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले भदौ २४ गते भक्तपुरमा ११३औँ बीपी जयन्ती मनाउने निर्णय गर्दै कार्यक्रम व्यवस्थापनका लागि छुट्टै समिति गठन गरेको छ। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी बाढीबाट प्रभावित भएकाले ती जिल्लाको अधिवेशन कार्यतालिका भने पछि सार्वजनिक गर्ने निर्णय गरिएको छ। संस्थापनले भने असोज १६–१९ मा महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।