वागमती प्रदेश सरकारले भोटेकोशी-त्रिशुली बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकालाई संस्थागत अभिभावकत्व दिने निर्णय गरेको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपत्तिमा परी आमाबुबा गुमाएका बालबालिकालाई आवाससहित माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा नि:शुल्क उपलब्ध गराउने गरी ‘संस्थागत अभिभावकत्व’ ग्रहण गर्ने निर्णय गरेको हो।
प्रदेशका अर्थमन्त्री सरल सहयात्रीका अनुसार, बाढी र पहिरोजस्ता विपद्का कारण अनाथ भएका बालबालिकाको भविष्य अन्योलमा नपरोस् र उनीहरूले आधारभूत अधिकारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सरकारले यो कदम चालेको हो।
यस कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न अर्थ मन्त्रालयमार्फत आवश्यक बजेटको व्यवस्था गरिनेछ।








