काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढीबाट सर्वाधिक प्रभावित स्याफ्रुबेँसी पुगेका छन् ।
भारतबाट आएको विज्ञ टोलीले विद्युत् आयोजनाका सुरुङमा गरिरहेको खोज तथा उद्धार कार्य अवलोकन गर्न उनी बिहीबार स्याफ्रुबेँसी पुगेका हुन्।
आफ्नो भ्रमणबारे जानकारी दिँदै राजदूत श्रीवास्तवले भनेका छन्- ‘चिलिमेनजिकै स्याफ्रुबेँसीमा तैनाथ हाम्रो प्राविधिक टोलीलाई भेटेँ। उनीहरूले उद्धार कार्यका लागि चिलिमे जलविद्युत्गृहको सुरुङ खन्ने कामलाई निरन्तरता दिइरहेका छन्।’
उनका अनुसार नेपाली सेनासँगै मिलेर काम गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र १०० मिटरभन्दा बढी क्षेत्रको खोजी गरिसकेका छन्।
‘उनीहरू सुरुङभित्र अझ अगाडि बढ्न भारी उपकरणहरू ल्याउने योजना बनाइरहेका छन्। हाम्रा र नेपाली टोलीहरूले प्रगति गरिरहेको गाह्रो दलदलजस्तो जमिन र चुनौतीपूर्ण भूभाग प्रत्यक्ष देखेँ,’ राजदूत श्रीवास्तवले भनेका छन् ।
राजदूत श्रीवास्तवले परिस्थिति कठिन भए पनि भारतीय र नेपाली दुवै टोलीले अविचलित भई आफ्नो काम निरन्तर गरिरहेको पनि लेखेका छन्।








