काठमाडौँ- रसुवा तथा नुवाकोट जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने भनी फैलाइएका विभिन्न हल्ला तथा अफवाहमा कुनै सत्यता नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्पष्ट पारेको छ।
शुक्रबार साँझ जारी गरिएको सूचनाअनुसार हिमताल फुटेर बाढी आउन लागेको भन्दै सर्वसाधारणबाट अत्यधिक फोन तथा सोधपुछ आएपछि प्राधिकरणले चिनियाँ समकक्षी निकायहरूसँग निरन्तर सम्पर्क गरी अनुगमन गरिरहेको छ। हालसम्म प्राप्त आधिकारिक तथ्याङ्क र सूचनाका आधारमा तत्काल ठूलो बाढी आउने कुनै सम्भावना नदेखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले पुष्टि नभएका, भ्रामक तथा काल्पनिक सूचना र हल्लाको पछि नलाग्न र त्रसित नभई संयमित रहन सर्वसाधारणलाई अपील गरेको छ।
कुनै अवस्थामा बाढीको वास्तविक जोखिम वा सम्भावना देखिएमा प्राधिकरणले एसएमएस मार्फत पूर्वसूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाएको जानकारी पनि सूचनामा दिइएको छ।
यस विषयमा थप आधिकारिक जानकारी वा अन्य विपद् सम्बन्धी सोधपुछ गर्नुपरेमा प्राधिकरणको टोल-फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।







